अष्ट्रेलियाली सरकारले पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडीतहरुको आकस्मिक आवश्यकताहरु पूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर (करिब ५.०९ करोड नेपाली रुपैया) मानविय सहायता घोषणा गरेको छ । यो सहयोगले भूकम्प प्रभावित स्थानहरुमा काम गरिरहेका अष्ट्रेलियाको परिचित सहकर्मी संस्थाहरुलाई थप आकस्मिक मानविय सहयोग साधनहरुको ब्यबस्था गर्न सहयोग गर्नेछ ।
अष्ट्रेलियाली सहयोगले नेपाल स्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रम मार्फत प्रभावित समुदायलाई सहयोग गर्नेछ । नेपालमा रहेको संयुक्त राष्ट्र संघिय जनसंख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैंगिक हिंसा पिडीतहरुका लागि सहयोग जस्ता जीवन सुरक्षा र सहयोग सेवाहरु प्रदान गर्नेछ ।
यो सहयोग मार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्पले प्रभावित स्वास्थ्य संस्था लगायतका सार्वजनिक संरचनाहरुको पुनर्निमाणमा सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसीटी भोल्केले भन्नुभयो, “पश्चिम नेपालमा गएको भूकम्प र पराकम्पहरुले निम्त्याएको मानविय र सम्पत्तीको क्षति प्रति गहिरो दुख व्यक्त गर्दुछु ।अष्ट्रेलिया र नेपाल बिच लामो समय देखिको मित्रता रहेको छ र हाम्रा दुई देशहरुले २०७२ को भूकम्प, कोभिड-१९ माहामारी लगायत बिपत्तीहरुमा एकआर्कालाई सहयोग गरेको ईतिहास छ । हाम्रो यो मानविय सहायताले भर्खर गएको भूकम्पले प्रभावित समुदायहरुमा निम्त्याएको आकस्मिक आवश्यकताहरु पुरा गर्न र आउँदा हिउदका लागि तयारी गर्न सहयोग पुग्नेछ ।”
यो भन्दा पहिले नेपालमा रहेको संयुक्त राष्ट्र संघिय जनसंख्या कोषलाई प्रदान गरिएको सहयोग मार्फत तयारी अवस्थामा राखिएका डिग्निटी किट र किशोरी किट हरु दश हजार महिला तथा किशोरीहरुलाई बितरण गरियो । साथै अष्ट्रेलियाको सहयोग मार्फत प्रजनन सेवा, प्रसुति सम्बन्धी जटिलताहरु र अन्य सेवाहरु प्रदान गर्ने स्वास्थ्य संस्थाहरुलाई सहयोग गरेको छ र यसले अनुमानित ६०,००० महिलाहरुलाई सेवा प्रदान गर्नेछ ।
0 Comments