हिसानको नवनिर्वाचित कार्य समितिले पत्रकार सम्मेलन गरेको छ । सो सम्मेलनमा हिसानको भावी कार्य दिशा र राज्यले नीजि लगानीबाट शिक्षा क्षेत्रमा पुप्याएको योगदानलाई कदर गर्नुपर्ने कुराको भाब व्यक्त गरिएको थियो । यसै पत्रकार सम्मेलनमा पत्रकार नारायण किलम्बुको स्वास्थ्य उपचारको लागि हिसानले किलम्बुलाई १ लाख नगद राशी प्रदान गरिएको थियो ।
नेपालमा गुणस्तरीय शिक्षा, शिक्षामा लगानी, नेपाललाई शिक्षाको गन्तव्य बनाउने, प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनमा जोड दिदै नैतिकवान, इमान्दार, देशभक्ति पूर्ण अनुशासित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरूको साझा संगठन भनेको हिसान हो । हिसानको २९ वर्षे यात्रामा नेपालमा शिक्षा क्षेत्रले अझै भनौ निजी शिक्षालयहरूले अनेकौँ आरोह अवरोहहरू पार गर्दै आएका छन् । संगठन निर्माण, व्यवस्थापकीय एवं समन्वयात्मक कार्यहरू, सदस्य शिक्षालयहरूको क्षमता अभिवृद्धि, नीति निर्माणमा दवाव र भाइचाराको सम्बन्ध विस्तार गर्दै अगाडी बढेको हिसानले आफ्नो नवौं राष्ट्रिय महाधिवेशन गत पौष ११ र १२ गते २०८२ मा काठमाण्डौमा सम्पन्न गरेको छ । अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न महाधिवेशनले निजी शैक्षिक संस्थाहरूको बारेमा मात्र होइन मुलुककै शिक्षा प्रणालीको सुधार र समय सापेक्ष ऐन, कानुन तथा वातावरण सृजना गर्नुपर्नेमा जोड दिएको छ । मूलतः शिक्षा, स्वास्थ्य राज्यकै जिम्मेवारीमा भएपनि राज्यको स्रोत साधनको कमि एवं निजी क्षेत्रको योग्यता र क्षमताको उपयोग । गर्दै शिक्षा क्षेत्रलाई नयाँ उचाइमा लान राज्यको स्वीकृति अनुसार नै निजि क्षेत्र अगाडी बढेको प्रस्टै छ नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रले अतुलनीय योगदान पुरÞ्याउदै आएको छ । ठूलो लगानी, गुणस्तरीय जनशक्ति उत्पादन, रोजगारीको सृजना, अर्थतन्त्रमा ठूलो योगदान, अध्ययन अनुसन्धानमा योगदान दिदै शिक्षाको राष्ट्रिय लक्ष्य प्राप्तिको लागी निजी शिक्षालयहरू दत्तचित्त भएर लागेपनि राज्यको तर्फबाट निजी शिक्षालयहरू प्रतिको दृष्टिकोण राम्रो हुन सकेको छैन ।
विद्यालय शिक्षा, उच्च शिक्षा एवं प्राविधिक शिक्षामा एक तिहाइ हिस्सा ओगटेको निजी शिक्षालयहरू अहिले पनि आफ्नो लगानी लगायत अन्य सुरक्षा हुन नसकेकोमा चिन्तित छन् । नवौं महाधिवेशनले लगानीको पूर्ण सुरक्षा, देशकै शिक्षा विकासमा योगदान बढाउने, तिनै तहका सरकारहरू सँग सहकार्य गर्ने, शिक्षा क्षेत्रमा भएका अन्य छाता संघ, संगठन एवं सरोकारवालाहरूमा वृहत् छलफल, बहस, अन्तरक्रिया गर्ने र नीति निर्माणको तहमा दवावमूलक भूमिका निर्वाह गर्ने, नेपाललाई शैक्षिक गन्तव्य बनाउन, शिक्षामा राज्यको लगानी बढाउनुपर्ने, शिक्षक, कर्मचारी, विद्यार्थीहरूको क्षमता अधिवृद्धिमा जोड दिनुपर्ने, शिक्षा क्षेत्रलाई सधै शान्ति क्षेत्रको रूपमा विकास गर्नुपर्ने तथा नेपालको शिक्षा सुधार र विकासमा समाजका सर्व पक्ष दत्तचित्त भएर लाग्नुपर्नेमा समेत हिसानले जोड दिएको छ ।
लामो समयदेखि विद्यालय शिक्षा ऐन उच्च शिक्षा ऐन एवं प्राविधिक शिक्षा ऐन आउन नसकेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलन पछि नेपालको शिक्षा थप अस्थिर र अप्ठ्यारोमा परेको छ । शिक्षालयहरू तोडफोड आगजनी र आक्रमणको शिकार बन्नाले शिक्षा क्षेत्र चपेटामा परेको छ । विद्यालय शिक्षामा लगभग शतप्रतिशत विद्यार्थीहरूलाई नेपालमै गुणस्तरीय शिक्षा दिन सफल भइरहेको सन्दर्भलाई नियाल्ने हो भने, निजी शैक्षिक संस्थाहरूको योगदान उच्च छ । विगतमा भारतको विभिन्न शहरहरू तथा युरोप, अमेरिका, अस्ट्रेलिया, जापान, साउथ कोरिया लगायत विकसित देशहरूमा विद्यालय शिक्षा पढ्न जाने परम्परा निजी शैक्षिक क्षेत्रले लगभग शून्यमा झारेको छ । यसको साथै निजी शिक्षालयहरूले विगत देखिनै १० प्रतिशत छात्रवृत्ति दिँदै आएको विषय कसैबाट लुकेको छैन ।
उच्च शिक्षाका सन्दर्भमा दृष्टि पु¥याउँदा राजनैतिक अस्थिरता, विश्वविद्यालयको महिनौ तालाबन्दी, समयसापेक्ष पाठ्यक्रमको अभाव, परीक्षा प्रणाली र नतिजा प्रकाशन ढिलाई, विश्वविद्यालयमा चरम राजनीतिकरण, सामाजिक देखासिकी तथा उद्योग र शैक्षिक पक्षलाई जोड्न नसक्दा, ठूलो सङ्ख्यामा विद्यार्थीहरू उच्च शिक्षाको नाममा बाहिरिनु मूल रूपमा राज्यकै दोष छ । नेपाललाई शिक्षाको गन्तव्य बनाउनुपर्ने अवस्थामा ठूलो सङ्ख्यामा उच्च शिक्षाको लागि विद्यार्थीहरू बिदेसिनु चिन्ताको विषय हो ।ठूलो लगानी, ठूला पूर्वाधार, दक्ष शैक्षिक जनशक्ति भएको अवस्थामा उच्च शिक्षालाई थप व्यवस्थित गर्दै विद्यार्थीहरूलाई नेपालमा उच्च शिक्षाको लागि रोक्न सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय र कलेजहरू थप जिम्मेवार भएर लाग्नु जरुरी छ ।
नेपालको सिङ्गो शिक्षाक्षेत्रलाई नयाँ ढंगबाट अगाडी बढाउन दत्तचित्त हिसानको यो कार्यसमिति हाम्रा अग्रज एवं विद्धनहरूको सुझाव, सल्लाह र मार्गदर्शन अनुसार अगाडी बढ्न खोजिरहेको वर्तमान सन्दर्भमा मुलुक निर्वाचनको माहोलमा छ । फेरी पनि मुलुकको विकाश र समृद्धि राजनैतिक नेतृत्वको सोच, योजना र कार्यक्रम अनुसार हुने भएकोले सम्पूर्ण राजनैतिक दलहरूले चुनावी घोषणा पत्र एवं प्रतिबद्धता पत्रमा देशको शिक्षालाई केन्द्रबिन्दुमा राख्न जरुरी छ । गुणस्तरीय, रोजगारी मूलक र जीवन उपयोगी शिक्षा देशमै सम्भव छ त्यसका लागि राजनैतिक सिराबाट नेतृत्वले घोषणापत्रमा राखेर मात्रै होइन कार्यान्वयनको तहमै रहेर नेपालको शिक्षालाई नयाँ सिराबाट अगाडी बढाउन सरोकारवालाहरूको साथ सहयोग लिदै अगाडी बढ्नुनै समयको माग हो ।
हिसानका थप कार्यक्रमहरू
१) संगठन विस्तार एवम सुदृढीकरण
२) प्रविधियुक्त कार्यालय र रेकर्ड प्रणाली
३) आर्थिक व्यवस्थापन
४) प्राज्ञिक, बौद्धिक उन्नयनमा परीक्षा, कन्फरेन्स, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण,
प्रकाशन तथा क्षमता अभिवृद्धिका तालिमहरू
५) प्याब्सन, एनप्याब्सन लगायत विद्यालय शिक्षा, उच्च शिक्षा र प्राविधिक शिक्षाका छाता संगठन सँग सहकार्य गरी थप परिणाममुखी बनाउने
६) खेलकुद, अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्व कार्यहरू गर्ने
७) पर्यावरण, वातावरण, रक्तदान, वृक्षारोपण, सरसफाइ, सडक सुरक्षा लगायत जनचेतना मूलक कार्यक्रमहरू गर्ने ।
८) सरकार र राजनैतिक नेतृत्व सँग लगानीको सुरक्षाका लागि निजी शिक्षामैत्री ऐन ल्याउन पहल र दवाव श्रृजना गर्ने ।
९) प्रविधि, नवप्रवर्तन, अध्ययन तथा अनुसन्धानात्मक कार्यहरू गर्ने ।
१०) संस्थाको उद्देश्य प्राप्तिका लागि, अग्रज, विज्ञ, सरोकारवाला तथा संचारकर्मीहरूसँग निरन्तर छलफल बहस चलाउने ।
११) समग्रमा मुलुकको शिक्षा सुधार र विकासका लागि तिनै तहका सरकार, विश्वविद्यालय, शिक्षा मन्त्रालय, विद्यार्थी संघ संगठनहरू, अभिभावक, पत्रकार, सामुदायिक विद्यालय, कलेजहरू र समुदायसँग सहकार्य गर्दै अगाडी बढ्ने ।




0 Comments