March 17, 2026
समाचार

मोही अभियानको सफलता : परम्पराबाट प्रवर्द्धनस

मोही अभियानको सफलता : परम्पराबाट प्रवर्द्धनस

प्रल्हाद दाहाल - अध्यक्ष 
नेपाल डेरी एसोसिएसन एवं 
बोर्ड सदस्य कृषि उद्यम केन्द्र 
नेपाल उद्योग वाणिज्य महासंघ

 

वि.सं. २०५५ सालदेखि दुग्ध क्षेत्रको प्रवर्द्धनमा निरन्तर सक्रिय नेपाल डेरी एसोसिएसनले तीन वर्षअघि काठमाडौं दरबारमार्गस्थित रैथाने एग्रोले राखेको बजार ओरेण्ट क्याफेबाट सुरु गरेको “मोही अभियान” आज देशव्यापी अभियानका रूपमा स्थापित भएको छ। प्रत्येक शनिवार रैथाने कृषि उपज मेलामा ठेकीमा प्रत्यक्ष मोही तुल्याई निःशुल्क वितरण गरिएको पहलले सुरुमा धेरैलाई आश्चर्यमा पारे पनि आज त्यसले उल्लेखनीय उपलब्धि हाँसिल गरेको छ।
अहिले गोष्ठी, सेमिनार, विवाह, भोज, होटल, रेष्टुरेन्टदेखि घर–घरमा मोहीको प्रयोग बढ्दो छ। केही स्थानीय तहहरूले समेत पाहुनालाई चिया वा कृत्रिम चिसो पेयको सट्टा मोहीले स्वागत गर्ने निर्णय गरेका छन्। यसले हाम्रो मौलिक संस्कारलाई पुनर्जीवित गर्नुका साथै किसानको दूध खपत बढाउन ठोस योगदान पुर्‍याएको छ।

मोही स्वास्थ्यका दृष्टिले लाभदायक पेय हो। दहीबाट वैज्ञानिक विधिबाट तयार गरिने मोहीमा क्याल्सियम, सूक्ष्म प्रोटिन र प्रोबायोटिक तत्व प्रशस्त पाइन्छ, जसले पाचन प्रणाली सुदृढ बनाउने, कमजोरी घटाउने र शरीरलाई तन्दुरुस्त राख्ने काम गर्छ। कृत्रिम रसायनयुक्त पेयभन्दा स्वच्छ, सस्तो र पोषिलो भएकाले उपभोक्ताको आकर्षण दिनानुदिन बढिरहेको छ।
अभियानको प्रभावस्वरूप विभिन्न प्रदेशका डेरी उद्योगहरूले व्यावसायिक रूपमा ब्राण्डिङसहित मोही उत्पादन सुरु गरेका छन्। दैनिक सयौं लिटरबाट हजारौं लिटरसम्म उत्पादन बढ्नु यस अभियानको प्रत्यक्ष उपलब्धि हो। यसले आयातित पेय पदार्थमा निर्भरता घटाउँदै स्वदेशी मुद्रा जोगाउने मार्गसमेत प्रशस्त गरेको छ।

मोही केवल पेय पदार्थ मात्र होइन, हाम्रो संस्कृति, स्वास्थ्य र अर्थतन्त्रसँग जोडिएको पहिचान हो। सबै सरोकारवालाले साथ दिए मोहीको बजार अझ विस्तार हुनेछ र किसान, उपभोक्ता तथा उद्योगी सबैलाई समान लाभ पुग्नेछ। अब आवश्यकता भनेको मोहीलाई राष्ट्रिय ब्राण्डका रूपमा स्थापित गर्दै वर्षैभरि देशभर  गुणस्तरीय उत्पादन बजारमा सुनिश्चित गर्नु हो ।

0 Comments

Leave a comment