– मधु लोहनी
मधु लोहनी एक दशकदेखि ललितपुर नख्खुस्थित सुदेशा स्कुलमा प्रिन्सिपलको जिम्मेवारी वहन गर्दै आएका छन् । ०५७ सालमा झापाको देवकोटा स्कुलको शिक्षकका रूपमा शिक्षा क्षेत्रमा प्रवेश गरेका लोहनी ०६२ मा विभिएम उच्च माविको विद्यालय प्रशासनमा जिम्मेवारी सम्हालेका थिए । हाल उनी विभिन्न क्याम्पसमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन् । त्रिविबाट व्यवस्थापनमा डिग्री गरेका लोहनीले काठमाडौं विश्वविद्यालयबाट पिएचडीको तयारीस्वरूप एजुकेसन लिडरसिपमा एमफिल गरेका छन् । प्याब्सनका केन्द्रीय सचिव रहेका लोहनी रोटरी क्लबमार्फत सामाजिक सेवामा पनि क्रियाशील छन् । उनले सरकारी र बैंकिङ क्षेत्रमा समेत कार्यानुभव बटुलेका छन् । शिक्षा, अर्थ, व्यवस्था, राजनीतिलगायत समसामयिक विषयमा लेख तथा विचारका कारण पनि सामाजिक छवि बनाएका लोहनी टेलिभिजन सञ्चारकर्मीका रूपमा पनि सक्रिय छन् । लोहनीसँग शिक्षा र उहाँको शैक्षिक नेतृत्वबारे गरिएको कुराकानी ः
अबको शिक्षा कस्तो हुनुपर्छ ?
जीविकोपार्जनका हिसाबले हेर्ने हो भने शिक्षा गरिखाने हुनुपर्छ । पढेको छ तर परेका वेला काम दिँदैन भने त्यो शिक्षा गरिखान दिने शिक्षा भएन । शिक्षाले ढंग सिकाउनुप¥यो, एउटा मानिसलाई समकालीन बजारमा क्षमताका हिसाबले प्रतिस्पर्धात्मक रूपमा बिक्न सक्ने बनाउनुप¥यो, रोजगारदाताले पत्याउने बनाउनुप¥यो । आजको बजार अर्थतन्त्रका कारणले सीपमूलक शिक्षा चाहियो ।
व्यापकताका हिसाबले हेर्ने हो भने शिक्षाले मानवताको प्रसार गर्नुपर्छ । मानवकल्याणको भावना जगाउनुुपर्छ । शिक्षा कल्याणको भावना जगाउने, ममता, प्रेम, स्नेह र सर्वहित चिताउने हुनुप¥यो । ‘सर्वे भवन्तु सुखिनः...’ हो नि हाम्रो शिक्षाको एउटा उद्देश्य त ! मारकाट बढाउने शिक्षाको के काम ?
शिक्षाको काम सूचना दिने मात्र होइन । सूचनाका लागि अहिले त पढ्नै पर्दैन, विद्यालय जानै पर्दैन, औपचारिक शिक्षा लिनै पर्दैन । सूचना त यत्रतत्र, सर्वत्र उपलब्ध छन् । शिक्षाले ज्ञानी बनाउनुप¥यो । अशान्त बनाउनु भएन । हाम्रो पूर्वीय दर्शनमा ज्ञानीहरू ध्यानी थिए । लोभ, मोह, रिस, राग, आवेग, संवेगलाई नियन्त्रण र व्यवस्थापन गर्ने शिक्षा चाहियो ।
शिक्षाको काम चरित्र निर्माण हो । त्यसैले संसारको जुनसुकै विश्वविद्यालय, क्याम्पस, स्कुलले चारित्रिक प्रमाणपत्र दिन्छ । कति नम्बर ल्यायो, कुन डिभिजन ल्यायो, कुन ग्रेडमा पास भयो भन्दा पनि महत्वपूर्ण र संसारले खोज्नेचाहिँ व्यक्तिको असल चरित्र हो । शिक्षाको उद्देश्य चरित्रवान् नागरिक बनाउने हो नि !
स्कुल कस्तो हुनुपर्छ ?
विद्यार्थीको सर्वांगीण विकासका लागि स्कुल एउटा प्लेटफर्म बन्नुपर्छ । पाठ्यक्रमले निर्दिष्ट गरेका कुरा त विद्यालयले सिकाएकै हुनुप¥यो । विद्यालयले ती कुराहरू सिकाउने वातावरण बनाउनुप¥यो । सिक्नुपर्ने कुरा के–के हुन्, के–के सिक्दै छ, कसरी सिक्दै छ भन्ने कुराको सूक्ष्म अवलोकन हुनुपर्छ स्कुलमा । आवधिक परीक्षाको नतिजामा अल्झनुभएन । कक्षा ६ को विद्यार्थीले कार्यालयमा निवेदन लेख्न जानोस् भन्ने पाठ्यक्रमले राखेको लक्ष्य हो भने विद्यार्थीले त्यो कुरा सिकेको÷नसिकेको थाहा हुनुप¥यो । नेपालीमा कति नम्बर ल्यायो भन्दा महत्वपूर्ण कुराचाहिँ त्यो हो ।
बालबालिकाले खेल्ने ठाउँ पाउनुप¥यो । सुरक्षित खेलकुद अति आवश्यक छ । शारीरिक विकासका लागि, तन्दुरुस्तीका लागि र मनोरञ्जनका लागि पनि । प्रतिस्पर्धात्मक भावना, टिम स्पिरिट, अनुशासन सिक्ने खेलबाटै हो ।
इन्टरस्कुल एक्टिभिटिजहरू प्रशस्त हुनुप¥यो । विद्यार्थीको एक्सपोजर हुनुप¥यो । सबै मानिससँग केही न केही स्पेसियालिटी त छन् नै । मसँग पनि केही छ भन्ने आत्मविश्वास विद्यार्थीलाई हुनुप¥यो ।
विद्यार्थीको युनिक क्यारेक्टर थाहा पाउने र त्यसलाई विकास गर्ने काममा विद्यालयले सहयोग गर्नुप¥यो । यी सबै कुराका लागि सुरक्षित र पर्याप्त पूर्वाधार चाहियो ।
तपाईं प्याब्सनको केन्द्रीय सचिव पनि हुनुहुन्छ । संस्थागत विद्यालयका समस्या तथा चुनौती के छन् ?
चुनौतीको पहाड छ, तर त्यसभन्दा पछाडि अवसरको झन् ठूलो हिमाल छ । निजी विद्यालयहरू पनि राज्यकै अनुमतिमा नागरिकले खोलेका छन् । आफ्ना बालबालिकाका पढाउने अधिकार पनि छ, दायित्व पनि हो, चुनौती पनि छ, जिम्मेवारी पनि हो । सरकारी विद्यालयको भर गरेर सबै जनताका छोराछोरीले गुणस्तरीय शिक्षा पाउँछन्, सर्वांगीण विकास सम्भव छ भनेर म कसैलाई हँसाउन चाहन्नँ । अभिभावकले र राज्यले शिक्षामा लगानी बढाउनुपर्छ । सरकारी र निजीको तुलनै होइन, शिक्षामा राम्रो उन्नति गरिरहेका देशहरूमा प्रतिविद्यार्थी प्रतिवर्ष कति लगानी भएको छ भनेर खोजौँ । ओइसिडी भन्ने २६ देशको समूहमा प्रतिविद्यार्थी प्रतिवर्ष औसत लागत ९–१० हजार डलर छ । त्यस हिसाबले शिक्षामा एउटा विद्यार्थीका लागि एक वर्षको खर्च १० लाख रुपैयाँ भयो । हामीकहाँ कसले त्यत्रो खर्च गरेको छ ? चाहिँदैन पनि । तर, अहिलेको १०–२० हजार रुपैयाँले पनि पुग्दैन । शिक्षामा लगानी बढाउनुपर्छ ।
अवसर कसरी छ भने विदेशमा भइरहेजस्तो शिक्षा हामीले सस्तोमा दिन सक्छौँ । नेपालका छोराछोरी इन्डिया पढ्न वर्षैपिच्छे हजारौँको संख्यामा गएका छन् । तिनलाई रोक्न सकियोस् । विदेशबाट नेपालमा स्कुल पढ्न विद्यार्थी आऊन् त, सस्तोमा त्यत्तिकै गुणस्तरीय शिक्षा दिन सकियोस् न, सकिन्छ पनि । विदेशी मुद्रा भित्र्याउने स्रोत पो बन्छ यो क्षेत्र ।
विद्यालय लामो समयसम्म बन्द हुने अवस्थालाई कसरी हेर्नुहुन्छ ?
‘बालबालिका शान्तिक्षेत्र’ नेपाल सरकारको नीति हो । बन्द–हडताल भइ नै हाले पनि विद्यालयलाई असर पर्नुहुँदैन । राजनीतिक दलको कार्यक्रमका कारणले पठन–पाठन प्रभावित हुनुहुँदैन ।
संकटकालीन अवस्था, विपद् आदिमा बालबालिकालाई सिकाइमा सहभागी गराउन सकिन्छ ?
आनन्दले । इच्छा चाहिन्छ, सकिन्छ । परम्परागत हिसाबले सोचेर भएन । एजुकेसन इन इमर्जेन्सीबारे त महाभूकम्पका वेला बहस नै चल्यो । नाकाबन्दीका वेला सहरमा यातायात प्रभावित हुँदा घरमै बसेर इन्टरनेटकै सहयोगमा पठन–पाठन गराइयो । अब त्यसबारे पनि सोच्नुपर्छ । सिकाइको स्रोत शिक्षक होइन, शिक्षकले सहजीकरण गर्न त टेलिफोनबाट सक्छ, युट्युबबाट सक्छ, इमेलबाट असाइनमेन्ट, होमवर्क दिन र जाँच्न सक्छ । अहिलेकै तरिकाले सोचेर त सकिँदैन, सोच्ने तरिकाचाहिँ बदल्नुपर्छ ।
सुदेशा स्कुलमा यी सुविधाहरू दिनुभएको छ त ?
हाम्रो ध्यान नै एक्स्पेरिमेन्टल लर्निङमा हो । किताबको चित्रमा हाइड्रोजन ग्यास तयार गर्ने होइन, ल्याबमा तयार गर्ने विद्यार्थी चाहियो । कपीमा कम्पोस्टमल बनाउने होइन, खाल्डोमा बनाउने विद्यार्थी तयार गर्ने हो । हामी विद्यार्थीलाई कक्षाकोठाबाहिर बढी पढाउँछौँ, वर्ड र वल्र्डलाई जोड्न खोज्छौँ । किताबमा भएको, पाठ्यक्रममा भएको कुरालाई जनतासँग जोड्न सक्नुप¥यो । ठूलालाई आदर गर्नुपर्छ भन्ने लेख्न जानेको, भन्न जानेको, नमस्कार गर्न नजानेको, आदर गर्न नजानेको त धेरै छन् नि ! मिहिनेत गर्नुपर्छ भनेर लेख्न जानेको तर ढलेको सिन्को नउठाउने पनि धेरै छन् । हाम्रो प्रयत्न सिकाउने र व्यवहार बदल्ने हो । सिकाउँदा पनि सकेसम्म सहभागी गराएर सिकाउने हो । जंगलमा गएर रूखको बारेमा पढ्ने हो । छिमेकी दोर्जे दाइको बारीमा गएर बाख्रा हेर्ने हो । बागडोलमा गएर हाम्रा नानीहरूले गोठमै बसेर गाई पाल्ने मान्छेसँग गाईको बारेमा पढेका छन् । नख्खुको तरकारी बजारमा गएर तरकारी भाउ सोधेका छन्, किनेर ल्याएका छन् । आफूले खेल्ने फुटबल मैदानको क्षेत्रफल नापेका छन् । घरको डाइनिङ टेबलको पेरिमिटर नापेका छन् ।
किताबमा फुटबल खेल्ने होइन, मैदानमा फुटबल खेल्ने, अनुशासनमा खेल्ने र जितेर पदक थाप्ने विद्यार्थी तयार गर्ने हो । उनीहरूले आफ्नै उमेरको चीनको विद्यार्थीले के गर्दै छ भनेर जान्ने हो, आफ्नै उमेरको बेलायतको विद्यार्थीले कसरी पढ्दै छ भनेर सिक्ने हो ।
हाम्रा नानीहरु अपांग सेवा केन्द्रमा गएर अपांगता भएका नानीहरूसँग कुरा गर्छन् । वृद्धाश्रम गएर बूढाबूढीका फुटेका हातमा भ्यासलिन दलिदिन्छन् । चोभार गएर प्लास्टिकजन्य फोहोर टिप्छन् । समुदायमा गएर बालबालिकालाई सुर्तीजन्य पदार्थ नबेचौँ भनेर चेतना जगाउँछन् ।
सिकाइको स्रोत शिक्षक होइन, शिक्षकले सहजीकरण गर्न त टेलिफोनबाट सक्छ, युट्युबबाट सक्छ, इमेलबाट असाइनमेन्ट, होमवर्क दिन र जाँच्न सक्छ । अहिलेकै तरिकाले सोचेर त सकिँदैन, सोच्ने तरिकाचाहिँ बदल्नुपर्छ ।
सुदेशा स्कुलमा के–कस्ता अतिरिक्त क्रियाकलाप गराउँदै आउनुभएको छ ?
हामीसँग असीमित क्रियाकलाप छन् । काठमाडौंको यो कोलाहलका बीच हाम्रा नानीहरू आनन्दले आफ्नै मैदानमा फुटबल खेलिरहेका छन् । बास्केटबलमा हाम्रो टिम रोजिएको हो । राष्ट्रपति रनिङ सिल्ड र राष्ट्रिय खेलकुदको जुनियर च्याम्पियनसिपको नतिजा उत्कृष्ट पाउनुहुनेछ । फाइन आर्ट, चेस, म्युजिक, डान्स, एथलेटिक्स, ड्रामाजस्ता एक्टिभिटिज हाम्रो विद्यालयमा निरन्तर हुन्छन् । सुदेशा स्काउट नेपालमा आफ्नो विशिष्ट ब्रान्ड बनाएको स्काउट ट्रुप छ । सुदेशाका विद्यार्थीले भाग लिएको डान्स कम्पिटिसनमा मेडलबाट वञ्चित हुनुपर्दैन । चेस प्रतियोगितामा भाग लिन हाम्रा नानीहरू देश–विदेश गएका छन् । हाम्रा नानीहरूले रेडियोमा कार्यक्रम चलाउँछन्, टेलिभिजनमा कार्यक्रम चलाउने तयारीमा छन् । युनेस्कोमा आबद्ध क्लब हाम्रो विद्यालयमा छ । रोटरी इन्टरनेसनलसँग जोडिएको रोट¥याक्ट क्लबमा हाम्रा नानीहरू आबद्ध छन् । सामाजिक कल्याण र सेवामा यो क्लब नेपालको रोटरी समुदायमा अग्रणी छ । चीनको छिन्ताओ प्रान्तको छिन्ताओ स्कुलसँग हाम्रो भगिनी सम्बन्ध छ । त्यहाँको विद्यार्थी र शिक्षकको टिम हालै हाम्रो विद्यालयको भ्रमणमा आएको थियो । ब्रिटिस काउन्सिलमार्फत कनेक्ट्री क्लासरुम प्रोजेक्टअन्तर्गत विश्वका विभिन्न विद्यालयका विद्यार्थीसँग हाम्रा विद्यार्थीको सिकाइ अन्तरक्रिया हुने गर्छ । स्टुडेन्ट क्वालिटी सर्कलमा हाम्रा नानीहरू संलग्न छन् । नेपाल जुनियर रेडक्रस सर्कल, लियो क्लबजस्ता संस्थाहरूमा पनि हाम्रा नानीहरू सक्रिय सहभागी छन् । १५ वटा क्लब हाम्रा विद्यार्थीका बीचमा उनीहरूको क्षमता विकासका लागि कार्यरत छन् । हामी अतिरिक्त कार्यकलापभन्दा पनि सह–शैक्षिक कार्यकलाप भन्छौँ, ती कार्यकलाप फाल्तु होइनन्, नानीहरूका विकासका लागि अपरिहार्य छन् । समाजसँग अन्तरघुलन हुने हिसाबले बारम्बार हाम्रा नानीहरू सामाजिक कार्यमा संलग्न हुने गर्छन् ।
मन्टेस्वरी शिक्षा र बालमैत्री शिक्षाले पिटेको समयमा तपाईंको विद्यालयमा त्यसलाई कसरी सम्बोधन गर्नुभएको छ ?
बालमैत्री शिक्षण विधिका लागि हाम्रो विद्यालय नमुना स्कुल हो । पूर्वप्राथमिक तहका शिक्षकका लागि तालिम दिने विदेशी नागरिकले सञ्चालन गरेको संस्था इसिइसीको हामी मोडेल स्कुल हौँ । शिक्षण भनेको यस्तो हुनुपर्छ भनेर देखाउने ठाउँ सुदेशाको प्रि–प्राइमरी तह हो । काठमाडौं विश्वविद्यालयको एजुकेसन फ्याकल्टीका विद्यार्थीको संस्था एबिआई नेपालको एक्टिभिटी बेस्ड लर्निङका लागि हाम्रो विद्यालय मोडेल स्कुल हो ।
व्यावहारिक शिक्षा कसरी दिने, संसारभर भएका शिक्षाका उत्कृष्ट र सफल प्रमाणित विधिहरूको स्थानीय आवश्यकता र सान्दर्भिकताअनुसार प्रयोग गर्ने हाम्रो योजना हो । शिक्षक तालिम र क्षमता विकास, शिक्षण सामग्रीको निर्माण र प्रयोग हाम्रो योजना र निरन्तरको काम हो । हाम्रा शिक्षक विद्यार्थीबारे रिसर्च गर्नुहुन्छ । पढाउने तरिका र विषयवस्तुबारे गहन खोजी गरेर तयारी गरेर मात्र कक्षामा जानुहुन्छ । शिक्षकहरू सघन तालिमप्राप्त हुनुहुन्छ ।
इसिइसी, एबिआई, रातो बंगलाजस्ता संस्थाहरूको सहयोगमा हामी निरन्तर तालिम प्रदान गरिरहेका छौँ । दिनप्रतिदिन हामी यसमा मिहिनेत गर्छौं । लगानी बढाउँदै छौँ । अभिभावक पनि उत्साहित हुनुहुन्छ । सहयोग गर्नुभएको छ । एप्रिसिएटिभ इन्क्विाइरी हामीले शिक्षणमा प्रयोग गरेको अर्को पद्धति हो । विद्यार्थीको गल्ती खोजेर कमजोर प्रमाणित गर्ने होइन, उसमा निहित क्षमता चिनेर त्यसलाई विकास गरी क्षमतावान् बनाउने हाम्रो विधि हो । त्यसका लागि मल्टिपल इन्टेलिजेन्समा आधारित शिक्षण कार्यकलाप र क्षमता विकास गर्ने गरेका छौँ ।
0 Comments