कोरोना भाइरसको महामारीको कारणले गर्दा हामी लामो समयदेखि लकडाउनमा छौं । यो नेपाल सरकारको निर्णयलाई पालना गरेको कारणले गर्दा हामी सुरक्षित छौं । यसरी लामो समयदेखि लकडाउन हुँदा श्रमजीवी वर्गहरुका लागि जीविकोपार्जनको लागि ठुलो समस्या छ । विशेषगरी, गोदावरी न.पा. वडा नं. ४ मा करिव ६५ प्रतिशत जनताले आजै काम गरेर आजै खानुपर्ने पहरी समुदायका मानिसहरु छन् । यिनीहरु वेद बाँसको आधारित कामहरु डाला, नाङ्ला, याकहरुजस्ता सामानहरु बनाउने गर्दछन् । यिनीहरको खेती योग्य जमिन छैन । पशुपालन गरेको अवस्था पनि देखिँदैन ।
पहरी समुदायको जिउने आधार भनेको वेद बाँसवाट बनाएका सामान बिक्रीबाट आर्जित रकम नै हो । यो अवस्थामा बनाएका सामान बिक्री गर्न पनि पाएका छैनन् । केही सामान बनाई राख्यौ भने बाँसहरु छैन । यो परिस्थितिमा यहाँको जनताको दिनचर्या रोगले भन्दा पनि भोकले मर्ने पो हो कि भन्ने त्रसित अवस्थामा छन् । यसलाई मध्यनजर गरी यहाँका जनताहरुलाई बैशाख महिनाभरी खान पुग्ने गरी प्रत्येक घर–घरमा पुगेर राहत वितरण गरेका छौं । वडाको आफ्नै पहलबाट शुरु गरिएको राहत वितरण कार्यक्रममा गोदावरी न.पा.का मेयर, उपमेयर र सबै वडाका वडा अध्यक्षहरुको सक्रिय भूमिका रहेको छ । लकडाउन बैशाख २५ बाट फेरि लम्बिएको अवस्थामा ती जनताहरुलाई खाद्यान्न अभाव हुने देखिन्छ । काम गर्न जाने अवस्था नभएको र आफ्नो साथमा केही नहुँदा यिनीहरुमा मानसिक तनाव बढेको देखिन्छ । यस्तो समस्याले गर्दा गोदावरी न.पा. वडा नं. ४ लाई धेरै समस्या परेको छ । अहिले यहाँका वडा बासीहरु राहत पाऊँ भनेर वडामा धाउन थालेका छन् ।
म यो विपद् व्यवस्थापनको संयोजक भएको हुनाले हाम्रो गोदावरी न.पा.को १४ वटै वडाहरुमा अवस्थित श्रमिक वर्गहरु, एकल महिलाहरु, सुत्केरी महिलाहरुलाई पहिलो र दोस्रो चरणमा राहत वितरण गरेको जानकारी गराउँछु । गोदावरी न.पा.का मेयर, उपमेयर र सबै वडाका वडा अध्यक्षहरुको बैठक बसी तेस्रो चरणको राहत वितरणको तयारीमा छौं । गोदावरी न.पा. का जनताहरु कोही भोका नरहुन् भनेर हामी जनप्रतिनिधि दिनरात खट्दै आएका छौं । गोदावरी न.पा. को संयोजनमा शुरु गरिएको राहत कोषमा थुप्रै संघ संस्था र समाजसेवीहरुको हातेमालो रहेको छ । हामीले जनताहरुलाई सुसूचित गर्नको लागि जनहितमा जारी सन्देश सबै वडा वडामा माइकिङ गर्ने व्यवस्था गरेका छौँ । स्वास्थ्य परीक्षणका लागि सवै वडामा व्यवस्था गर्नुको साथै अस्पतालसमेत गोदावरी न.पा.ले सञ्चालनमा ल्याएको छ ।




0 Comments